भारत–नेपाल सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा व्यवस्थापन तथा दुई देशका सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले शुक्रबार संयुक्त पैदल गस्ती (फुट पेट्रोलिङ) गरिएको छ।
भारतको बहराइच जिल्लाअन्तर्गत रुपैडिहा क्षेत्र र नेपालतर्फको सीमा क्षेत्रमा भारतको सशस्त्र सीमा बल (एसएसबी), उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल (एपीएफ) को सहभागितामा संयुक्त गस्ती सम्पन्न भएको हो।
संयुक्त गस्तीमा भारततर्फबाट एसएसबी ४२औँ वाहिनी नानपाराका असिस्टेन्ट कमान्डेन्ट अमित कुमार र रुपैडिहा प्रहरीका प्रभारी निरीक्षक हरिन्द्र कुमार मिश्र सहभागी थिए। नेपालतर्फबाट सशस्त्र प्रहरी बलका उपरीक्षक तिर्थराज न्यौपाने, निरीक्षक डम्बर साउद, नेपाल प्रहरीका निरीक्षक गणेश गिरी तथा सहायक प्रहरी निरीक्षक बदलीराम चौहानको सहभागिता रहेको थियो।

गस्तीका क्रममा सीमा क्षेत्रको सुरक्षा अवस्था, कानून तथा शान्ति व्यवस्था कायम राख्ने, अवैध गतिविधि नियन्त्रण गर्ने तथा दुवै देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदान र नियमित संयुक्त गस्तीलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको जनाइएको छ।
सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शान्ति, सद्भाव र भाइचारा कायम राख्न, कानूनको पालना गर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न संयुक्त पैदल गस्तीले नेपाल र भारतका सुरक्षा निकायबीच आपसी विश्वास, समन्वय र सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।































